९ असार, काठमाण्डौ। प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले गत जेष्ठ २६ गते आदेश जारी गर्दै आजदेखि निरन्तर सुनुवाइ गर्न पेशी तोकेको थियो।
सोही अनुसार उक्त मुद्दामा निरन्तर सुनुवाइ सरु भएको हो। सुरुवातमा आज रिट निवेदकका तर्फबाट बहस प्रारम्भ भएको हो। रिट निवेदकको तर्फबाट बहस गर्नका लागि २ सयभन्दा बढीले वकालत नामा दर्ता गरेका छन्।
तर, सबै रिट निवेदकले बहस भने गर्न पाउने छैनन्। किनभने इजलासले रिट निवेदक, विपक्षी र एमीकस क्यूरीको तर्फबाट बहस गर्नका लागि समय नै निर्धारण गरिदिएको छ।
इजलासले रिट निवेदक पक्षलाई बहसको सुरुवातमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय दिएको छ। त्यस्तै विपक्षीलाई पनि १५ घन्टा निर्धारण गरेको छ। भने एमीकस क्यूरीका लागि २ घन्टाको कुल समय तोकिएको छ।
रिट निवेदकको तर्फबाट आज ५ जना कानून व्यवसायीहरूले बहस गर्ने छन्।











