४ असार, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा केही सुधार भएको जनाएको छ। मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको हो ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकोले दिउँसोपछि बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने सम्भावना रहेको।
अबको तीन दिन देशका धेरै ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम पानी परे पनि निरन्तर लामो समय ठूलो पानी पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि धेरै पानी परेकोले सामान्य पानी पर्दा पनि पहिरो तथा बाढीको सम्भावना रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।











