३० जेष्ठ, काठमाण्डौ। शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आइतबारसम्म देशभर सक्रिय बन्ने भएको छ । देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको छ। बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।
देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।
त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
त्यसैगरी शनिबार दिउँसो गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको मनसुन एक–दुई दिनमा पश्चिम नेपालसम्म नै प्रवेश गर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने पनि महाशाखाले जनाएको छ ।











