११ जेष्ठ, सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो ।
गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताउनुभयो । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्रै भेटिने गरेको शाहीले बताउनुभयो ।
सोमबार मात्रै वडा दुई थालीमा ४० देखि ५० जनाको औषधि उपचार गरीएको उहाँले बताउनुभयो । कोरोनाको आशङ्कामा उक्त गाउँमा सात जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको शाहीले जानकारी दिनुभयो ।
थाली गाउँमा देखिएको मौसमी रुघाखोकी नियन्त्रणका लागी स्वास्थ्यचौकीले माग गरेअनुसारको औषधि गाउँपालिकाबाट पठाएको स्वास्थ्य संयोजक बलिराज शाहीले बताउनुभयो ।











