घरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

३१ वैशाख, काठमाण्डौ। अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका इस्लाम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक दान गरेर दीनदुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण आज बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठमा १५ जनाभन्दा बढी उपस्थित नभएको सचिव हुसेनले सुनाउनुभयो । विसं २०७६ सम्म नेपाली जामे मस्जिदमा इद उल फित्रको बिहान नमाज पढ्न १०औँ हजार इस्लाम धर्मावलम्बी जम्मा हुने गरेका थिए । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले इस्लाम धर्मावलम्बीले घरमै इदुल फित्र मनाएका थिए ।

निषेधाज्ञाका कारण मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा मौलाना र कर्मचारी मात्र उपस्थित हुने भएपछि धेरै इस्लाम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदै छन् । त्यसपछि ठूलाबडा कहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडा कहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहनुभएका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताउनुभयो ।

[sidebar name="button post"]