१९ वैशाख, काठमाण्डौ। काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबार प्लाज्मा दिइएको थियो। कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो।आइसियूमा राखेर उपचार गरिरहे पनि अवस्था सुधार नभएपछि उनलाई प्लाज्मा दिइएको हो।
उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका डाक्टरले प्लाज्मा दिँदा पनि उनले स्वास्थ्यलाभ लिन नसकिरहेको बताए।डाक्टरका अनुसार कोमललाई पहिलेजस्तै प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइरहेको छ। शाहको स्वास्थ्य स्थिर र गम्भीर रहेको नर्भिकका अस्पताल स्रोतले जानकारी दियो।
कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा वैशाख ७ गते नर्भिकमा भर्ना भएका थिए। ज्ञानेन्द्र र प्रेरणा भिभिआइपी उपचार कक्षमा छन्। उनीहरूको स्वास्थ्य सामान्य छ। पूर्वरानी कोमललाई भने आइसियूमा राखिएको छ।









