१४ वैशाख, काठमाण्डौ। राजधानी काठमाण्डौ उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि निषेधाज्ञा जारी गरेपनि सरकारले भने उपत्यकका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा वैशाख महिनाभर नै निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको साँझबसेको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको निषेधाज्ञामा एक साता थप गरी १५ दिन निषेधाज्ञा जारी राख्नुपर्ने निर्णय गरेको हो ।
१५ दिन पछि पनि कोभिड-१९ को अवस्था हेरेर निषेधाज्ञाको अवधी थपघट हुनसक्ने एक मन्त्रीले जानकारी दिए। यस्तै सरकारले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ।
बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
त्यस्तै मन्त्रिपरिषदले सीसीएमसीको सिफारिश अनुसार सहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी क्षेत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा लगाउनुपर्ने सिफारिसलाई पारित गरेको छ। योसगै १० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ । मन्त्रीपरिषद्का निर्णयहरु आज पत्रकार सम्मेलन गरी जानकारी गराइने भएको छ ।









