८ वैशाख, काठमाण्डौ। बुधबार काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले केही क्षेत्रमा हल्का पानी परेको र दिउँसोपछि जमिन भिज्ने गरी पानी पर्ने मौसमी बुलेटिनमा उल्लेख छ ।
स्थानिय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न थालेको मौसमविद्ले बताएका छन् । भोलि र पर्सिसम्म नै यो प्रणाली सक्रिय रहने सम्भावना रहेकाले भोलि र पर्सि पनि पानी पर्ने अनुमान गरिएको छ ।
यस्तै, देशका धेरैजसो ठाउँमा तुँवालो लागेको छ । भारतबाट धुवाँ र धुलोसहितको हावा नेपाल प्रवेश गरेकाले तराईका जिल्लासहित देशका धेरै ठाउँमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जारी बसलेटिनका अनुसार पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने बताइएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि यी क्षेत्रहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।












