८ वैशाख, दाङ। दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना बालकको मृत्यु भएको छ।उनका आमा-बुवा घाइते छन्। मंगलबार बेलुका दुर्घटनामा परेर ८ वर्षका बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ८ वर्षीय बालक स्पर्ष आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका आमा पार्वती आचार्य र ३९ वर्षका बाबु सुदीप आचार्य घाइते छन्। उनीहरूको तुलसीपुर अस्पतालमा उपचार जारी छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अनुसार मोटरसाइकलमा सवार रहेका ८ वर्षका बालकको मृत्यु भएको हो। उनको टाउकोमा गहिरो चोट लागेको थियो। उपचारका क्रममा उनको राप्ती प्रादेशिक अस्पतालमा मंगलबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ।
बबई गाउँपालिका वडा नम्बर ६ पञ्चकुलेको ओरालोमा सीतापुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भे १ ज १००२ नम्बरको जिपले ठक्कर दिएको थियो।
तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ।












