५ वैशाख, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमा पुनः नियुक्त गरेका छन्।राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए ।
बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् ।
२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए।
बादल २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए। राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो ।
सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको थियो।









