भोलि नयाँ बर्षको पहिलो दिन बुधबार : बुधबार कस्ता खालका कामकाज गर्नुलाई शुभ र अशुभ मानिन्छ ? यसो भन्छ ज्योतिष शास्त्र-

भोलि मिति नयाँ बर्ष वि सं २०७८ साल बैशाख १ गते बुधबार। ज्योतिष शास्त्रका आधारमा बुधबार कस्ता खालका कामकाज गर्नुलाई शुभ र कस्ता कामकाज गर्नुलाई अशुभ मानिन्छ भन्ने विषयमा चर्चा गर्छौँ ।

बुधबारलाई बुध ग्रहको बार मानिन्छ । बुधग्रहलाई ज्योतिष शास्त्रमा दुई चरित्र भएको ग्रह मानिन्छ । बुध ग्रह जस्तो ग्रहसँग बस्यो उसको स्वभाव पनि उस्तै नै हुने गर्दछ । राम्रो ग्रहहरुसँग बुधको सम्बन्ध भएमा बुधको फल पनि राम्रो र नराम्रो ग्रहसँग बस्यो भने बुधको फल पनि अशुभ नै मानिन्छ । तर बुध ग्रह कुनै पनि ग्रहसँग बसेमा भने यसले सामान्यतया शुभ फल नै दिने गर्दछ ।

बुध ग्रहको यस्तो स्वभाव भएको हुनाले यस बारलाई अलि कन्फ्युज हुने बारको रुपमा मानिन्छ । अरु बारहरुमा जस्तै बुधबार पनि गर्न हुने शुभ कार्यहरु धेरै नै छन् । बुधबार कुनै पनि व्यवसाय, संस्था वा अन्य क्षेत्रको प्रशिक्षणको काम राम्रो मानिन्छ । बुधबार आरम्भ गरिएको प्रशिक्षणमा प्रशिक्षार्थीहरुले हरेक साइडबाट राम्रोसँग बुझ्न सक्ने मान्यता रहेको छ ।

व्यापार व्यवसायको लागि पनि बुधबार शुभ हुने कुरा ज्योतिषिय ग्रन्थहरुमा बताइएको छ । बुधबार बैकिंग कामकाज र मार्केटिंगको लागि पनि राम्रो हुने मानिन्छ । विद्याभ्यास, तथा शैक्षिक क्षेत्रमा बुधको प्रभावले राम्रो गर्ने गर्दछ । साहित्य सँग पनि बुध समबन्धि भएकोले साहित्यिक क्षेत्र पनि बुधको लागि राम्रो हुने गर्छ ।

साहित्य पढ्नु , पढाउनु, रचना गर्नु या अन्य कुनै काम गर्नु बुधबार राम्रो हुने गर्दछ । कलाकारिता देखाउनु, सिक्नु, नाटक मञ्चन गर्नु, या गीत संगितको क्षेत्रमा अघि बढाउन बुधले मद्दत गर्ने भएकाले बुधबार यी क्षेत्रहरु पनि राम्रो हुने गर्दछ ।

मोडलिंग, फेसन र विज्ञानपन गर्ने कामकाजहरु पनि बुधबार गर्नु राम्रो मानिन्छ ।

आर्ट गर्नु, चित्र बनाउनु, नक्साको काम गर्नु जस्ता विषयहरु पनि यही दिन गर्दा राम्रो सफलता मिल्ने मानिन्छ । खेलकुद पनिमा सहभागी हुनु वा खेल खेल्नु पनि राम्रो मानिन्छ । बुध बुद्धिसँग संबन्धित ग्रह भएकोले यस दिन बुद्धिको प्रयोग गरेर खेल्ने खेलहरु विशेष शुभ मानिने गर्दछ ।

बागचाल, चेस लगायतका खेलहरु राम्रो हुने गर्दछ । धातु, सुन, सम्बन्धि कुराहरु पनि यस दिन गर्नाले सफलता मिल्ने कुरा ज्योतिष शास्त्रमा बताइएको छ । शरिरलाई तन्दुरुस्त राख्ने व्यायाम योग जस्ता शारिरिक क्रियाकलापहरु पनि यस दिन शुरु गर्न सकिन्छ ।

बुधग्रहलाई ज्योतिष शास्त्रमा वाणिज्य कारक ग्रह मानिन्छ । त्यसकारण यस दिन धन सम्पति सँग संबन्धित आर्थिक कारोबार राम्रो हुने कुरा ज्योतिषिय ग्रन्थहरुमा बताइएको छ । विद्याको लागि विशेष गरेर अर्थशास्त्र, कानुन, पत्र पत्रिका आदिको सम्पादक जस्ता क्षेत्रमा बुधको विशेष प्रभाव रहने हुँदा यस दिन यी कार्यहरुमा हात हाल्नु वा अघि बढ्नु राम्रो हुने गर्दछ ।

ठेक्कापट्टाको काम, साथी भाइसँगको व्यवहार, व्यापारिक कार्य पनि बुध ग्रहसँग संबन्धित हुने गर्दछन् । यस्ताकामहरु पनि प्रारम्भ गर्नको लागि सामान्यतया बुधबार नै शुरु गर्नु राम्रो हुने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।

कुण्डलीमा बुध ग्रह कमजोर भएका मानिसहरुले पन्ना रत्न लगाउँदा बुधबार नै लगाउनुपर्दछ ।

ज्योतिष शास्त्रमा बुध ग्रहको रंग हरियो मानिने हुनाले यस दिन हरियो रंगका कपडाहरु प्रयोगमा ल्याउनु राम्रो हुने गर्दछ । कुण्डलीमा बुध ग्रह कमजोर भएमा बुधबार हरियो सागसब्जी, हरियो कपडा, मुङ्गको दाल, सुन, घिउ, चाँदी, काँसको भाँडा, थरिथरिका फुलहरु दान गर्नु राम्रो हुने कुरा ज्योतिषका ग्रन्थहरुमा बताइएको छ ।

त्यसकारण बुधबार ज्योतिष शास्त्र अनुसार माथि बताइएका यी विविध क्षेत्रहरुमा हात हाल्नु वा कामकाजलाई अघि बढाउनु राम्रो हुने गर्दछ । बुधबारको स्वामी भगवान् विष्णु भएकाले यस दिन विष्णुको उपासना गर्नु उत्तम मानिन्छ ।

बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्

[sidebar name="button post"]