सरोज कार्की
मानिस धेरै कारणले काम गर्ने गर्छन् । दिन दैनिकी चलाउन काम नगरी हुँदैन । परिवार चलाउन काम गर्नुपर्छ । एउटा महिलाको लागि परिवार र काम सहज छैन । तर आजका महिला परिवार र व्यवसायमा जुट्न थालेका छन् ।
एउटा परिवारमा महिलाको जति धेरै योगदान हुन्छ, सायदै पुरूषले त्यति योगदान दिन सक्लान् । महिलाहरू घरमा बालबच्चा हुर्काउनदेखि परिवारको आर्थिक भार समेत बहन गर्न सक्षम छन् । यसैमध्यमा एक हुनुहुन्छ, सुधा तामाङ । उहाँ गणेशथान पछाडी रहेको घुम्ति पसलमा तयारी कपडाहरू बेच्ने काम गर्नुहुन्छ ।
तामाङ हाल काठमाण्डौको कालोपुलमा बस्नुहुन्छ । उहाँको परीवारमा दुई छोरीहरू छन् । तामाङको श्रीमान् ट्याक्सी चालक हुनुहुन्छ । उहाँको पुर्खैली थलो बर्दिबास, महोत्तरी हो । परिवारको आर्थिक अवस्था सुधार गर्न तामाङले बिगत ९ बर्षदेखी काम गर्दै आउनुभएको छ ।
व्यापारको थालनी
तामाङले व्यापारको थालनी गर्नुभन्दा पहिला सरकारले सिकाएकोे निःशुल्क कपडा सिलाउने सिप लिनुभयो । पछि त्यही सिपको आधारमा तामाङले एउटा बुटिकमा काम गर्न थाल्नुभयो । त्यही बुटिकमा काम गरेर जोगाएको पैसाले उहाँले कपडा सिलाउने पसल खोल्नुभयो । उहाँले हिरारत्न हल नजिकै आफ्नो सिपको आधारमा, आफ्नो व्यापारको सुरूवात गर्नुभयो ।
सिलाईको कामलाई निरन्तरता दिनुभयो । कामकै क्रममा उहाँको आखाँमा समस्या देखापर्यो । रातभरको कामको कारण, उहाँको दुबै आखाँको नशा फुल्न थाल्यो । जस कारण उहाँले आफुले गरीराखेको काम छोडी चाबहिलको गणेशथान पछाडी घुम्ती पसलमा तयारी कपडाको व्यापारको थाल्नुभयो ।
अहिले ब्यापार
आखाँमा समस्या देखिएपछि गएको असोजबाट तामाङ तयारी कपडाको ब्यापारमा लाग्नु भएको हो । तामाङ ब्यापारका लागि बिहान छोरीहरूलाई विद्यालय पुर्याएर पसल आइपुग्नु हुन्छ भने बेलुका प्रायः ६ बजे एक्लै घर जाने गर्नुहुन्छ । तामाङ आफुले बेच्ने गरेको कपडा महा बौद्धबाट ल्याउने गर्नुहुन्छ । यसरी ल्याएको कपडामा सगोलमा ३० प्रतिशत नाफा हुने गरेको तामाङ बताउनुहुन्छ ।
उहाँलाई सामान ल्याउनको लागि श्रीमानले सहयोग गर्नुहुन्छ । धेरै ब्यापार हुने गरेको समय बेलुका ४ बजेपछि हो । प्रायः ग्राहकहरू स्थानीय, देखिराखेको अनुहार हुने गरेको तामाङको अनुभव छ । धेरैजसो बच्चाहरूको कपडा बिक्ने गरेको छ । अरु बेला भन्दा चाडपर्व अझ दशैं तिहारको समयमा राम्रो ब्यापार हुने गरेको तामाङ भन्नुहुन्छ ।
समस्या र अप्ठारा
काठमाण्डौमा कमाएर बाँच्न गाह्रो छ । शरीरलाई भन्दा मानसिक तनाव ज्यादा छ । झन् कोरोनापछिको समय मानिसको लागि कष्टकर बन्दै गएको छ । तामाङ भन्नुहुन्छ, कोरोनाको कारण ब्यापारमा धेरै समस्या आएको छ, हामीहरू कोरोनासँग अझै भिड्दै छौँ । पहिलेको अनुरूप ब्यापार नहुने गरेकोले परिवार चलाउन गाह्रो परेको छ, समस्या धेरै छ ।’
अबको योजना
घुम्ती पसलमा कपडा बेच्ने तामाङको अबको योजना पनि यहि ब्यापारलाई बढाएर लैजाने रहेको छ । उहाँलाई आफ्ना छोरीहरूलाई राम्रो शिक्षा दिने, उनीहरूले चाहेको सपना पुरा गर्ने लक्ष्य छ । परिवारकै लागि केही गरू भन्ने उहाँको चाहना छ । आखाँ ठिक भएमा, पहिलेकै कपडा सिलाईको काममा फर्कने योजना रहेको उहाँ सुनाउनुहुन्छ ।
महिलाले काम गर्नुहुन्न् भन्ने मनसाय समाजमा अहिले पनि पाइन्छ, तर तामाङको परिवारको सोंच, उहाँको श्रीमानको साेंच त्यस्तो नरहेको तामाङ बताउनुहुन्छ । उहाँको श्रीमान् उहाँलाई सामान ल्याउनसँगै जाने गर्नुहुन्छ ।
तामाङ भन्नुहुन्छ,‘महिलाहरूले अवसर पाउने हो भने पुरूषले भन्दा छिटो अवसरलाई सदुपयोग गर्न सक्छन् ।’









