३० चैत्र, काठमाण्डौ। नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटनको हटबाट पछि हट्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका नेता गिरिले भने – सकुनीले पासा फालेर पाण्डवहरुलाई वनवास पठाए जस्तो गरी प्रतिनिधिसभा विघटन गर्न नलाग्नुहोस्, ओलीजीलाई मेरो सल्लाह छ ।
नेपाली जनताले वर्तमान संसद्लाई पाँच वर्षको म्यादसहित पठाएको हेक्का राखौं भन्दै उनले प्रधानमन्त्री ओलीकै कारण देशमा राजनीतिक अस्थिरता बढेको आरोप लगाए । तर त्यो कोर्ष सर्वाेच्च अदालतले करेक्सन गरिदियो , अब भने सुल्टो बाटोतिर लागौं पाँचै वर्ष संसद् चलोस् – नेता गिरीले भने ।
अहिले देखापरेको संकटलाई राष्ट्रिय सहमतिका आधारमा हल गर्न सकिने उनको सुझाव छ । उनले भने –अहिले राष्ट्रिय संकटको घडी छ, सबै मिलेर अगाडि बढौं, चुनावै गर्ने भएपनि सहमतिमा गरौं,त्यसका लागि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाऔं ।
प्रतिनिधिसभालाई पूरा कार्यकाल काम गर्न दिएर मात्रै सहमतिका आधारमा निर्वाचन गर्दा देश र जनताको भलो हुने उनको तर्क छ । फेरि पनि दलका नेताहरुले एकअर्कालाई विश्वासमा लिएर अगाडि बढ्नुको विकल्प छैन भन्दै उनले २०४७ सालको संविधानलाई असफल बनाइएजस्तै घटनाक्रम देखिएकाले सतर्क र सजग हुन आग्रह गरे ।









