आज हामी ज्योतिष शास्त्र अनुसार सोमबार के कस्ता कामकाजहरु गर्नु शुभ र अशुभ हुन्छ भन्ने विषयको बारेमा चर्चा गर्छौँ । सूर्य आदि ग्रहहरुका ७ वटा बारहरु छन् भने ज्योतिषिय ग्रन्थहरुमा ति ७ बार नै के कस्ता काम गर्दा राम्रो हुन्छ भन्ने विषयहरुको विशाल वर्णन गरिएको पाइन्छ ।
सामान्यतया ग्रहको स्वभाव अनुसारको काम नै ग्रहको बार अनुसार गर्दा राम्रो मानिन्छ । पापी ग्रहको बारको दिन गर्न निर्देशन गरिएको काम शुभ ग्रहको बारमा गर्दा त्यसले गर्ने र गराउने दुवै व्यक्तिलाई राम्रो गर्दैन भन्ने शास्त्रिय मान्यताहरु रहेको छ । बारहरु पनि ग्रहहरुका अनुसार कुनै शुभ फल दिने वाला र कुनै अशुभ फल दिने वाला मानिन्छ ।
ज्योतिष शास्त्रहरुका अनुसार सोमबार जन्मिएको मानिसमा चञ्चलता बढी हुने मानिन्छ । कृष्ण पक्षको सोमबार जन्मिएमा मानिस अस्थिर, आत्मविश्वास कमजोर भएको र डराउने पनि सक्ने स्वभाव को हुने गर्दछ । तर शुक्ल पक्षको समयमा चन्द्रमा पूर्ण हुँदै जाने भएकाले शुक्लपक्षको सोमबार जन्मिएका मानिसमा समाज सेवाको भावना र मनमा धमिलो नराख्ने स्वभावको हुने मानिन्छ । हिन्दु धर्म ग्रन्थहरुका अनुसार सोमबार भगवान् शिवको पनि प्रिय बार भएकोले यस दिनमा कामकाज प्रारम्भ गर्दा बार अनुसारको काम छिट्टै सफल हुने मानिन्छ ।
चन्द्रमाको आधारमा सोमबार निर्माण भएको हो । चन्द्रमालाई वनस्पति र सम्पूर्ण जगतको प्राणदाता मानिन्छ । चन्द्रमा र सूर्य बिना कुनै पनि प्राणिका जीवन रहन सक्दैन । शंख, मोती, चाँदी, तथा जल तथा समुद्रबाट उत्पन्न हुने बस्तुको कामकाजको लागि सोमबार उपयुक्त मानिन्छ । उखुको रस बाट उत्पन्न हुने सखर, खुदो तथा चिनी जस्ता खाद्य पदार्थको कामकाजको लागि सोमबार लाई राम्रो मानिन्छ ।
महिला तथा वृद्ध वृद्धाहरुको हकहितका लागि गरिने कार्यको शुरुवात पनि यस दिन गर्नु ज्योतिष शास्त्र अनुसार शुभ हुने बताइन्छ । त्यसैगरि वृक्षारोपण, खेतीपाती को शुरुवाती सोमबार नै गर्नाले प्रशस्त उपलब्धी लिन सकिने कुरा ज्योतिषका ग्रन्थहरुमा भेट्टाइन्छ ।
कृषी, बिउ विजनको काम पनि सोमबार नै राम्रो हुने गर्दछ ।
चन्द्रमा नै बलियो हुने दिन भएकाले सोमबार गर गहनाको कारोबार, यात्रा संबन्धि काम र मनोरञ्जनको कार्यलाई विशेष रुपमा गर्नु राम्रो मानिन्छ । यज्ञ, पूजापाठ तथा धार्मिक अनुष्ठानहरु पनि सोमबार गर्नु धर्मशास्त्रहरुका अनुसार उत्तम मानिन्छ । यस दिन गाई सँग संबन्धित कार्यहरुको प्रारम्भ वा विशेष कार्यलाई शुभ दिन मानिएको छ ।
दूध, दही, घ्यू संबन्धि व्यवसाय पनि यस दिन राम्रो हुने गर्दछ । पशुपालनका कामकाज तथा फल फुल संबन्धि कार्यहरु पनि यस दिन गर्नु ज्योतिष शास्त्रले उत्तम बताएको छ । बालकहरुको लागि पहिलो पटक औपचारिक रुपमा पढाउन प्रारम्भ गर्नको लागि पनि शुभ नक्षत्र योग हरुका साथसाथै सोमबारलाई पनि लिनु भन्ने ज्योतिषिय ग्रन्थहरुको मान्यता रहेको छ । ज्योतिष शास्त्रमा समुद्र, पानी, नर्सिंग क्षेत्रलाई चन्द्रमा सँग संबन्धित मानिन्छ । त्यसकारण सोमबार यी कार्यहरु प्रारम्भ गरेमा सफलता मिल्ने मानिन्छ ।
सोमबारको दिन कलाकारिताको काम, समाजसेवाको काम तथा जनसमर्थन लिएर गर्ने काम गर्नु पनि राम्रो मानिन्छ । जनसमर्थन लिएर गर्ने कार्यमा चन्द्रमा बलियो भएमा चाँडो सफलता मिल्ने कुरा ज्योतिष शास्त्रमा बताइएको छ । मौशम को जानकारी लिने काम, कपासको काम पनि सोमबार चन्द्रमाको प्रभावले राम्रो हुने मानिन्छ ।
हवाइ जहाजसँग सम्बन्धित काम, इएर होस्टेस, परिचारिका आदिको कामकाज पनि सोमबारको दिन राम्रो मानिन्छ । जन्म कुण्डलीमा चन्द्रमा बलियो भएको मानिसले सोमबारको दिन कामकाज र व्यवसाय थालनी गरेमा छिट्टै सफलता हासिल गर्ने कुरा पनि ज्योतिष शास्त्रमा वर्णन गरिएको छ ।
बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्








