बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्
आज सोमबार र औँशी तिथि पनि आज नै परेको छ । अर्थात् आज सोमबारे औँशी हो । सोमबारे औँशीलाई सोमवती औँशी भनेर पनि धर्मग्रन्थहरुमा वर्णन गरिएको छ । सोमबार र औँशी तिथि एकै दिन परेमा सोमबारे औँशी हुन जान्छ ।
सामान्यतया १ वर्षमा एक वा दुई पटक यस्तो योग आउँछ र सोमबारे औँशी हुन्छ । हिन्दु धर्ममा सोमबारे औँशीलाई महत्वपूर्ण दिन मानिन्छ । यस दिन दान आदी पुण्यको कार्य गर्नु निकै राम्रो हुन्छ । आफ्ना सबै मनोकामनाहरु प्राप्तिका साथै विशेष गरेर यस दिन पितृ उद्धारको लागि कार्य गर्नु राम्रो हुन्छ ।
महिलाहरुले पनि यस दिन सौभाग्य वृद्धिका लागि व्रत वा पूजा आजाका कार्यहरु गर्नाले सौभाग्य बढ्ने धार्मिक विश्वास रहेको छ । सोमबारे औँशीको कथामा बताए अनुसार एकजना व्यापारीकी छोरीको विधवा हुने योग परेको रहेछ । त्यो पनि विवाहको दिनमा नै विधुवा हुने ।
जव यो कुरा भिक्षा माग्न आएको भिक्षुकबाट ति कन्याले आफ्नो विवाहको दिन नै विधुवा हुने योगको बारेमा थाहा पाइन् । त्यसपछि निकै चिन्ता लिएर बसेकी तिनले एकदिन उनै भिक्षुकबाट यस समस्याको निवारणको लागि उपाय थाहा पाइन् । समुद्रपारि गएर उनले भिक्षुकले बताएको सोना नाम गरेकी धोबिनीको निकै राम्रो सेवा गरिन् । उनिहरुको सेवाबाट खुशी भएकी त्यस धोबिनीले भनिन् विवाहमा मलाई बोलाउनु ।
विवाहको समयमा त्यस धोविनीलाई पनि बोलाइयो र विवाह गर्ने बित्तिकै मृत्यु भएका बेहुलालाई आफुले गरेको सोमबारे औँशीको पुण्यको प्रभावले धोबिनीले पुनः जिवित गरिदिइन् । र सोमबारे औँशीको महिमाको वर्णनको बारेमा निकै प्रशंसा गरिन् । त्यसकारण महिला तथा पुरुषहरुले पनि आफ्नो वैवाहिक जीवन सुखमय होस् भन्नको लागि यस दिनमा शुभ कार्य गर्नुपर्दछ ।
यस दिनको एउटा रोचक पक्ष पनि छ । सोमबारे आँैशीको दिन बिहानको समयमा कसैसँग पनि नबोलिकन नुहाउनु पर्छ भन्ने धारणा छ । नबोलीकन नुहाएर बिहानीपख नै गएर पिपलको वृक्षको १०८ पटक परिक्रमा गरेमा त्यसले गरेका पुण्यका कार्यहरु अनन्त गुणा बढेर जान्छ ।
भोलिको औँशीको खासै कुश सँग विशेष महत्व नजोडिएको भए पनि कुशको महत्व भने औँशी सँग सँधै नै जोडिएको छ । किनकि कुश औँशीको दिन नै उखेल्नुपर्छ । अन्य सामान्य दिनहरुमा उखेलेको कुशको प्रयोग एक दिन मात्र गर्न मिल्दछ । औँशीको दिन उखेलेको कुश १ महिनाभर प्रयोग गर्न सकिने कुराहरु शास्त्रमा बताइएको छ ।
तर सोमबारे औँशीका दिन उखेलिएको कुशको प्रयोगलाई १ वर्ष सम्म गर्न सकिन्छ । र कुशे औँशीको दिन सोमबार पनि परेको छ भने यस दिन उखेलिएको कुश १३ वर्ष सम्म प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणहरु हिन्दु धर्म ग्रन्थहरुमा पाइन्छन् । कुश पितृ उद्धारको लागि चाहिने महत्वपूर्ण साधन हो ।
कुशको प्रयोग गरेर गरिएको कार्यले पूर्णता पाउने शास्त्रिय प्रमाणहरु छन् । भोलि सोमबारे औँशी भएको कारणले गर्दा आजको दिनलाई पितृहरुको उद्धारको लागि कार्य गर्ने राम्रो दिन मानिन्छ । भोलिको दिन गरेको श्राद्धले पितृहरुले धेरै समयसम्म पाउने भएकाले भोलि विभिन्न तिर्थहरुमा पितृ उद्धारको लागि श्राद्ध गर्नेहरुको भिड लाग्ने गर्दछ ।
धार्मिक ग्रन्थहरुका अनुसार एक महिनामा दुइ पक्ष हुन्छन् । १, कृष्ण पक्ष र २, शुक्ल पक्ष । कृष्ण पक्षको प्रतिपदा तिथि देखि औँशी सम्म चन्द्रमा को १६ कला मध्ये एक एक कला घट्दै जान्छ र औँशीको दिन चन्द्रमा घटेर सानो आकारको देखिन्छ । पुनः शुक्ल पक्षको प्रतिपदा देखि बढेर पूर्णिमाको दिन चन्द्रमा गोलो आकारको पूर्ण बन्छ ।
यी दुई पक्षमध्ये कृष्ण पक्षलाई पितृहरुको समय मानिन्छ । कृष्ण पक्षको अन्तिम दिन औँशी आउने भएकाले यस दिन पितृहरुको उद्धारको लागि श्राद्ध गर्नु राम्रो मानिन्छ । यस दिन सोमबार परेमा झनै शुभ हुने कुराहरु शास्त्रमा लेखिएको छ ।








