नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान प्रक्रिया सुरु

२५ चैत्र, काठमाण्डौ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान प्रक्रिया सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।

महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो । मतदान अपराह्न चार बजेसम्म चल्नेछ । महासंघमा यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष मतदान प्रणालीमामार्फत नेतृत्व चयन हुँदैछ ।

महासंघको निर्वाचनमा देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले मतदान गर्दै छन् । अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् भने शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवारमा छिन् । त्यस्तै स्वतन्त्र अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी प्रतिस्पर्धा गर्दै छन् ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । महासंघको सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।

महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा ९, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । त्यस्तै केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्या अनुसार रहने व्यवस्था छ ।

[sidebar name="button post"]