वेदको आँखा मानिने ज्योतिष शास्त्रमा विभिन्न तारा तथा ग्रहहरुको अध्ययन गरिन्छ । सृष्टिको प्रारम्भ देखि नै ग्रह तथा ताराहरुको उत्पत्ति भएको मानिन्छ । हाम्रा पूर्वजहरु सँधै आकाशिय चमत्कार तथा घटनाहरु पत्ता लगाउन तल्लिन रहन्थे । ऋग्वेदमा सूर्यको पूर्व दिशाबाट उदय र पश्चिम समुद्रमा पुगेर अस्त हुने कुराको वर्णन गरिएको पाइन्छ ।
जैनहरुको आगम ग्रन्थमा २ सूर्यको वर्णन गरेको पाइन्छ । वेदमा १२ सूर्यको वर्णन भेटिन्छ । वास्तविक रुपमा सौरमण्डलमा एउटै सूर्य छ र त्यो सूर्य स्थिर छ । सौरमण्डलमा रहेका चन्द्रमा, पृथ्वी, मंगल, बुध, आदि ग्रह अनादिकाल देखि नै एउटै तरिकाले घुमिरहेका छन् यिनीहरुको गतिमा कुनै पनि अन्तर आएको छैन अर्थात् यी सबै सत्यमार्गमा अडिग रहेका छन् परन्तु पृथ्वीका मनुष्य मात्र यस्ता छन् जसले सत्यलाई छोडेर नैतिक पतन तर्फ होमिन लागेका छन् ।
हाम्रो प्राचिन ज्योतिष शास्त्र र आधुनिक आकाशिय पिण्डको अनुसन्धानको क्षेत्रमा प्रायः सबैको निचोड उस्तै देखिएता पनि सूर्यको गतिको बारेमा भने विपरित मत भेटिन्छ । प्राचिन ज्योतिष शास्त्र सूर्यलाई गतिमान् मान्दछ भने आधुनिक विज्ञान सूर्यलाई स्थिर मान्दछ । यही नै अहिलेसम्मको ग्रहको अध्ययनमा देखिएका विपरित तथ्य हो ।
हामी पृथ्वीमा बस्नेहरुका लागि सूर्य स्थिर या गतिमान् जे भए पनि यसको भ्रमण मार्ग ३६० डिग्रीको छ र यसलाई अध्ययनको सरलताका लागि १२ भागमा विभाजन गरिएको छ जसलाई मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन नाम दिइएको छ । सूर्यको भ्रमण मार्गको प्रत्येक ३०÷३० डिग्रीमा क्रमशः मेषादि १२ राशीहरु पर्दछन् अर्थात् पहिलो ३० डिग्रीको भाग मेष राशि हो भने अन्तिमको ३३० देखि ३६० डिग्री सम्मको भाग मीन राशिको हो ।
आकाशका प्रत्येक ग्रहहरु यी १२ वटा राशिमा नै भ्रमण गर्दछन् । यी बाह्र राशिका मालिक राहु र केतु बाहेकका ७ ग्रहहरु नै हुन् । मेष र वृश्चिक राशि मंगलको हो, वृष र तुला शुक्रको , मिथुन र कन्या बुधको, कर्कट चन्द्रको , सिंह सूर्यको, मकर र कुम्भ शनिको तथा धनु र मीन बृहस्पतिको स्वामित्व भित्र पर्दछन् । यी १२ राशि ज्योतिष शास्त्रमा निकै महत्वपूर्ण स्थान राख्दछन् । यही राशिको १२ संख्यालाई आधार मानेर वर्षमा १२ महिना बनेको छ । सूर्यका १२ नाम, हीराको १२ किनार, सोलोमन मन्दिरको १२ भाग, युनान का १२ देवता तथा इजरायलमा १२ जाति पनि यसैका अनुकरण मानिन्छन् ।
नक्षत्र २७ वटा छन् भने कसैले अभिजित सहित २८ नक्षत्र मान्दछन् । प्रत्येक नक्षत्रमा ४ देवनागरी लिपिका अक्षरहरु हुने गर्दछन् । यसरी २७ नक्षत्रमा १०८ नाम निश्चित गरिएका छन् । संसारका कुनै पनि प्राणीको ज्योतिषिय आधारमा यी १०८ मध्ये कुनै न कुनै नाम नै पर्दछन् यी भन्दा अतिरिक्त नाम हुन सक्दैनन् । यी १०८ मध्ये प्रत्येक ९÷९ नाम मेषादि १२ राशिहरुमा पर्दछन् ।
यसरी यी १०८ मध्ये जसको नाम जुन राशिमा पर्दछ त्यसको राशी पनि सोही नै हुने गर्दछ । यही १२ राशिका आधारमा नै कुण्डलीमा ग्रह उच्च या नीच भएको ज्ञान हुने गर्दछ भने ग्रह हरु शत्रु या मित्र कसको घरमा बसेको छ भन्ने पनि तथ्य पत्ता लाग्दछ । यसरी १२ राशिको ज्योतिष शास्त्रमा निकै महत्वपूर्ण स्थान रही आएको छ भने कुनै पनि विशेष कार्य गर्नको लागी साइत जुराउने क्रममा गर्न लागिएको कार्य सम्बन्धि ग्रह कस्तो राशिमा बसेको छ भनेर विचार गरि नै साइत पनि प्रदान गर्ने गरिन्छ ।










