Ad #144479

चितवन मेडिकल कलेज (सिएमसी)ले कलेजोको सफल प्रत्यारोपण गरेको छ । राजधानी बाहिर पहिलो पटक सिएमसीले कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दुई, काठमाडौँको शिक्षण अस्पतालमा पाँच वटा कलेजोको सफल प्रत्यारोपण भइसकेको छ । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जनसहित २१ जनाको समूहले चैत ८ गते आइतबार १२ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपरण गरेको हो ।

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले भरतपुर-१० की ५४ वर्षीया धनकुमारी लामामा कलेजो सफल प्रत्यारोपण गरिएको बिहीबार आयोजित पत्रकारमा जानकारी दिए । धनकुमारीलाई उनकी ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दान गरेका हुन् ।

कलेजो प्रत्यारोपण भएकी महिला र प्रदान गर्ने उनकी छोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको देवकोटाले जानकारी दिए ।

चितवन मेडिकल कलेजमा प्रत्यारोपणका लागि ४ सर्जन, ३ क्रिटिकल केयर र ३ एनेस्थेयोलोजिष्टसहित १० जना विशेष तालिमप्राप्त नर्सहरु उपलब्ध रहेको कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले बताए ।

विदेशमा कलेजो प्रत्यारोपण महङ्गो हुने भन्दै आफूहरुले २५ लाख रुपैयाँमा नै कलेजो प्रत्यारोपणको सेवा उपलब्ध गराएको न्यौपानेको भनाइ छ ।