निरा ठकुरी विगत दुई दशकदेखी दुना, सालको पातको मुठा, टपरी बेच्दै आउनु भएको छ । उहाँले काठमाण्डौको चावहिल गणेशथान जाने बाटोमा दुना, टपरी, सालको पात, सिन्काहरू बेच्नुहुन्छ । ठकुरीको परिवारमा दुई छोरीहरू छन् । श्रीमान् बितिसक्नुभएको छ । उहाँ आफुले व्यापार गर्ने गरेको घरमै बाहालमा बस्दै आउनु भएको छ ।
सिन्धुपाल्चोकबाट काठमाण्डौ
ठकुरी सिन्धुपाल्चोकको मेलम्चिमा जन्मनुभएको हो । उहाँ सात बर्षको उमेरमा काठमाण्डौ चाबहिलमा आएको बताउनुहुन्छ । उहाँको श्रीमान्को घर विरगञ्ज हो । तर श्रीमान्ले चाबहिलमै फलफुलको व्यवसाय गर्नुहुन्थ्यो । परिवार चलाउन समस्या परेपछि आम्दानीका लागि सालको पातको व्यापार राम्रो हुने देखेर यो काम थालेको उहाँ बताउनुहुन्छ ।
ठकुरी भन्नुहुन्छ,‘मेरो श्रीमान् बितेपछी परिवारको सारा जिम्मेवारी म माथि थपियो, मसँग काम पहिले नै थियो, मेरो मन डराएन, मैंले यो कामलाई निरन्तरता दिएँ, बिचमा फलफुल बेच्न थालें तर घाटा भएका कारण छोडे । त्यसपछि सालको पात र दुना, टपरी मात्रै बेच्न थालेको हो ।’
संघर्ष
ठकुरी जस्तै व्यापार व्यवसाय गर्ने अरु धेरै महिलाहरु छन् । सबैका आ–आफ्नै दुखसुख, बाध्यता छन् । परीवारको भार महिलामा थपिन्छ । परीवार पाल्न घरभित्र मात्रै बसेर पुग्दैन । त्यसैले बाहिर निस्कनुपर्छ । निरा ठकुरी भन्नुहुन्छ,‘कुनै पनि महिलाको लागि श्रीमान्को साथ निक्कै महत्वपूर्ण छ । श्रीमान् नहुँदा अरु धेरै बोझ थपिन्छ, नेपाली समाजमा पुरूषलाई परिवारको भार, आड, रक्षक मुख्य आर्थिक स्रोत जुटाउने रूपमा पनि हेरिन्छ । यदी कसैको परिवारमा पुरूषको नहुनु या गुमाउन त्यो निक्कै दुखदायी अवस्था हो ।’
श्रीमान्को समेत जिम्मेवारी बोकेर ठकुरी अहिले संघर्ष गर्दै हुनुहुन्छ । ‘मैले अरु कुरा काट्नेहरूको पर्वाह पनि गरिन्, यहि सालको पात बेच्ने कामलाई निरन्तर गरें र मेरो परिवार चलाएको छु ।’
दैनिकी
ठकुरी बिहानैदेखी सालको पातको मुठा बेच्नुहुन्छ । यसको व्यापार बिहान र दिउँसोको समयमा धेरै हुन्छ । व्यापारपछि हुने आम्दानी नै उहाँको परिवार चलाउने मुख्य स्रोत हो । सालको पात र बुनेका टपरी, दुना, बोता लिएर उहाँ बिहानै चाबहिल चोकमा पुग्नु उहाँको दैनिकी बनेको छ । यि सालको पात र बुनेका टपरी, दुना सामान चितवनबाट आउने गरेको र सिन्का धरानबाट ल्याउने गरेको ठकुरी बताउनुहुन्छ । एउटाको पातको मुठा ३० देखि ६० रुपैयाँ सम्ममा बच्ने गरेको उहाँ बताउनुहुन्छ ।
व्यापार सुरू गर्दा ताका सालको पातको तिन मुठा, १० रूपैयाँमा किनेर, १० को दुई मुठा बेच्ने गरेको पनि उहाँ सम्झनुहुन्छ । दैनीक ३०० देखी ८०० वा ९०० सम्मको व्यापार हुने गरेको छ । ज्यादा व्यापार भने सोरश्राद्धमा हुने गरेको छ । उहाँले अर्डर अनुसार पनि सामान बेच्ने गर्नुहुन्छ ।
विभिन्न मठ मन्दिर,पूजाआजा, धार्मिक कामका लागि उहाँलाई अर्डर आउने गरेको छ । ठकुरी भन्नुहुन्छ,‘मैले पढेकी छैन, हिसाव किताब गर्न राम्रोसँग आउँदा पनि आउँदैन, धार्मिक काम हुने भएकाले यो व्यापारमा ग्राहकहरूले ठगि गर्दैनन् । यो विश्वासकै कारण सहज छ ।
ब्यापार सहज
निरा ठकुरीले २० बर्षदेखि व्यापार गर्दै आउनु भएको छ । उहाँको लागि अरू काम भन्दा ब्यापार नै राम्रो छ । उहाँ भन्नुहुन्छ, ‘आयआर्जनको लागि व्यापार नै राम्रो हो, व्यापारमा कोही कसैको अन्डरमा बस्नुपर्दैन, यो सजिलो पनि छ र राम्रो पनी छ ।’ भविष्यमा पनि यहि व्यापारलाई निरन्तरता दिने सोंच रहेको उहाँ बताउनुहुन्छ ।
तर पछिल्लो समय मानिसहरूको ब्यस्तताका कारण बिगत ५/७ बर्षदेखि गाँसेका टपरीहरू लैजाने, कसैले कागजको पातको प्रयोग गर्ने चलन बढ्दो छ । त्यसैले यो व्यापार पनि सहज छैन ।
काम गर्नु अपराध होइन
ठकुरी भन्नुहुन्छ,‘महिला भएर काम गर्नु कुनै अपराध होइन । उनीहरूले आफ्नो सिपले कमाउनु कुनै गलत होइन । काम गरेर खानी महिलाको कुरा काट्नु गलत हो, सही बाटोमा हिँडेकाको मन दुखाउनु हुन्न । परिवारमा यदि सुख ल्याउनुछ भने महिलाले पनि काम गर्न जरूरी छ, एउटाको कमाइले परिवार पालिन्छ भने अर्काको कमाईले बालबच्चा पढाउन वा घर चलाउनका लागि अझ सजिलो हुन्छ ।
ठकुरीको सिंगो समाजलाई प्रश्न छ, यदी कोही महिलाले कमाएर परिवार पाल्नुपर्छ भने, के उसले नखाने, नलाउने, भोकभोकै मर्ने ?









