स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा

८ चैत्र, लहान। सिरहाको बरियारपट्टीस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन भएको छ । प्रयोगशाला सेवा सञ्चालन भएपछि स्थानीय औधी खुशी छन् । गाउँपालिकाले आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापन गरेर बरियारपट्टी गाउँपालिका– ३ स्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरेको हो ।

हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सो प्रयोगशाला सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिनुभयो ।

प्रयोगशालाबाट खकार र गर्भवतीलाई एचआइभी जाँच निःशुल्क हुने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । स्वास्थ्यचौकीमै ल्याब सेवा शुरु भएपछि रगत, दिसा, पिसाब र खकारको जाँचका लागि बिरामीलाई लहानसहित सदरमुकाम सिरहासम्म पुग्नुपर्ने बाध्यतासमेत हटेको उहाँको भनाइ छ ।

सो स्वास्थ्य चौकीबाट बरियारपट्टीसहित हरिपुर, जानकीनगर, नवटोली, श्रीपुर तथा छिमेकी मुलुक भारतको लदनियाका सर्वसाधारणले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

[sidebar name="button post"]