८ चैत्र, लहान। बालबालिकामा बढ्दो आँखाको समस्या कम गर्ने उद्देश्यले सिरहाका विभिन्न विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिन थालिएको छ ।
‘रीच’ कार्यक्रमअन्तर्गत लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले शिक्षकमार्फत बालबालिकालाई आँखाको समस्याबाट जोगाउन सकिने भएकाले विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिन थालिएको हो ।
छदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको आँखाको सुरक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण भएकाले सिरहाको विभिन्न सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुलाई आँखा सुरक्षासम्बन्धी तालीम दिइरहेको कार्यक्रम संयोजक विवश राणाले जानकारी दिनुभयो ।
बालबालिकामा टेढो आँखा, दृष्टिदोष, मोतिया बिन्दु, जलबिन्दुलगायतका आँखासम्बन्धी समस्या देखिएपछि समस्याको पहिचान गरी उपचारका लागि अस्पतालसम्म ल्याउन प्रेरित गर्न विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिइएको उहाँले बताउनुभयो ।
बालबालिकामा देखिने आँखासम्बन्धी समस्याको पहिचान गरी अस्पतालसम्म ल्याएर निःशुल्क जाँच, शल्यक्रिया र चश्मासमेत उपलब्ध गराइने जनाएको छ । हालै नगरपालिकाले वडा नं १ देखि १० सम्मका छ हजार ९१९ बालबालिकाको आँखा जाँच गर्दा २५० बालबालिकामा आँखाको समस्या देखापरेको थियो । यसमध्ये १० बालबालिकाको शल्यक्रिया र ९८ जनालाई निःशुल्क चश्मा वितरण गरेको अस्पतालले जनाएको छ ।











