५ चैत, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीले आजका लागि बोलाएको संसदीय दलको बैठकमा भाग लिन भनी हिंडेका खनाल–नेपाल पक्षीय सांसदहरू अचानक बीच बाटाेबाटै फर्किएका छन् ।
स्थायी कमिटीमा नरहेका सांसदहरुलाई सहभागी गराउने भनी गरिएको निर्णय बमोजिम केही सांसद बालुवाटार जाँदै गर्दा फेरि उनीहरु बीच बाटोबाटै फर्किएका छन् । ‘अनौपचारिक छलफलबाट बालुवाटार जाऔं भन्ने भयो । यसपछि हामी त हिँडिसकेका थियौं ।
फेरि अर्को सूचना आयो, हामी फर्कियौं’, सांसद गणेश पहाडीले भने । अनुसार स्थायी कमिटीबाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो ।तर वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो ।
‘पहिले जाने भन्ने भयो, फेरि नजाने भन्ने भयो । अब हामी जान्नौं’, सांसद दीपकप्रकाश भट्टले भने । छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्षसहित बालुवाटार हिँडिसकेका सांसदहरु फर्किएका हुन् ।
‘दलको नेताले बोलाएको बैठकमा जानुपर्छ, तर आज होइन भन्ने भयो’, एक सांसदले भने ।ओलीले बोलाएको छलफलमा जाने वा नजाने भन्नेबारे छलफल गर्न विहान १० बजे छलफल राखिएको थियो । १५ मिनेट मात्रै छलफलको सूचना गरिएकाले अधिकांश सांसदहरु हेरिटेज गार्डेन पुगेकै थिएनन् ।
स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाललगायत नेताहरुसहित थोरै सांसदहरुबीच भएको छलफलपछि स्थायी कमिटी बाहेकका सांसद बालुवाटार जाने निर्णय लिइएको थियो ।












