प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, खनाल–नेपाल पक्ष नजाने

४ चैत्र, काठमाण्डौ। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीले भोलि बिहान ११ बजे आफ्नै सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक डाकेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग बिना सल्लाह डाकिएको सो बैठकमा आफूहरु नजाने समूहका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले एकलौटी चलाउन खोजेको,पार्टीलाई विसर्जनतिर धकेलेको आरोपसहित यो समूहले आज र भोलिका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । सोही कार्यक्रममा सहभागी कतिपय नेता तथा सांसद्हरुको मोबाइलनमा प्रमुख सचेतक विशाल भट्टराईको नामबाट बैठकमा आउन निम्तो आएपछि मात्रै आफूहरुलाई जानकारी भएको सांसद् जीवनराम श्रेष्ठले बताए ।

उनका अनुसार , भोलि पनि आफूहरु कार्यकर्ता भेलामा व्यस्त रहने र बालवाटारमा बोलाइएको बैठकमा सहभागी नहुने जानकारी यसअघि नै गराइएको हो । त्यसैले अब आफ्नो निर्धारित कार्यक्रम छाडेर बालुवाटार जाने कुरा त भएन नि – उनले भने ।

प्राप्त एसएमएसमा भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्ने भएकाले उपस्थित हुनुहोला भन्ने व्यहोरा रहेको पनि उनले बताए ।

[sidebar name="button post"]