४ चैत्र, काठमाण्डौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देशमा केपी ओलीका साइबर स्याल हुइँया सुरु भएको भन्दै त्यस्ता छट्टु स्याललाई नपत्याउन आग्रह गरेका छन् ।
आजबाट सुरु पार्टी राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन सत्रलाई संवोधन गर्दै नेता नेपालले भने ओलीले साइबर स्यालमार्फत आम कार्यकर्तालाई भ्रमित र त्रसित गराउन खोजेका भन्दै त्यसविरुद्ध एकतावद्ध भएर भिड्न आह्वान गरेका छन् ।
उनले भने ‘हामी अहिलेसम्म त्याग र तपस्याका साथ अगाडि बढिरहेका छौँ । यो संकटबाट डराउदैनौ, हामी यसको सामना गर्छौ । कम्युनिष्ट पार्टी भनेको विचार हो, सिद्धान्त हो । विचार नहुने कम्युनिष्ट हुन सक्दैन, ओलीको विचार छैन ।’
ओलीले पार्टीमा विग्रह ल्याएको भन्दै उनले भने–ओली प्रवृत्तिले समग्र कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशामा लागेको छ । समग्र कम्युनिष्ट एकताले मात्रै नेपाल र नेपालीको भविष्य उन्नत हुनेमा ओलीले त्यो सबै भत्काएका छन् । त्यसको दोष उनले लिनैपर्छ ।
आफूहरुले पदलाई कहिल्यै महत्व नदिएको प्रष्टीकरण दिंदै नेता नेपालले जबसम्म फागुन २८ को निर्णय सच्चिदैन हाम्रो सहयोग र समर्थन नरहने जानकारी दिए । एमाले ब्युँतिएपछि सबै निर्णय र प्रकृया पुरानै हैसियतमा रहनुपर्ने उनले सर्त राखे ।











