Ad #144479

२८ फागुन, काठमाण्डौ। अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहनुभएका उहाँको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीनदिनदेखि उहाँ सोही अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो ।

राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोटलाइट र बिबिसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पु¥याउनुभएको थियो ।

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनती र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहनुभएका उहाँमा मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उहाँका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइराला स्मरण गर्नुहुन्छ ।

उहाँको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ । स्व शर्माका श्रीमती र एक छोरा हुनुहुन्छ ।