२७ फागुन, जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित दुईजनालाई घुस लिँदै गर्दा अख्तियार टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधबार साँझ ८ बजे राजश्व कार्यालयका कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट एकाउन्ट कन्सलटेन्सीका संचालक नवीन कर्णलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।जनकपुरस्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट अख्तियारको टोलीले तिनीहरूलाई डेढ लाख रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ ।
गोप्य सुचनाको आधारमा तिनीहरूलाई घुस रकम सहित पक्राउ गरिएको कुरा अख्तियार बर्दिबासका सुचना अधिकारी मनिराम ज्ञवालीले जनाएको छ । उनले भने अन्तःशुल्क समायोजन रकम फिर्ता गराई दिन संचालक कर्णले घुस दिन खोज्दा पक्राउ परेको हो ।












