Ad #144479

२६ फागुन, काठमाण्डौ। निर्वाचन आयोगले पूर्व नेकपालाई एमाले र माओवादी केन्द्रका रुपमा व्यवहार गर्न संघीय संसद्लाई पत्राचार गरेपछि आजबाट आसन पनि फेरिने भएको छ । पुनस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक अहिले दिउँसो १ बजे बस्दै छ ।

बैठक कक्षमा अब नेकपा माओवादी केन्द्रका लागि बेग्लै आसनस्थल तयार गरिएको संसद् सचिवालयले जनाएको छ । आजको बैठक सुरु गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गर्ने भएका छन् । बैठक सुचारु गर्न यस्तो बैठक आयोजना गर्न लागिएको सचिवालयले जनाएकोछ ।

यसैबीच , हिजोबाट औपचारिक रुपमै विभाजित भएको भएको नेकपा माओवादी केन्द्रले आज पनि स्थायी कमिटी बैठक डाकेको छ । अहिले मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा वर्तमान केपी ओली सरकारको विकल्पमा अर्काे गठबन्धन बनाउन कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल गरिने बुझिएको छ ।

हिजो पनि बैठक बसेको थियो । उक्त बैठकले नयाँ समीकरण नबनेसम्म ओली सरकारलाई कायम समर्थन यथाबत राख्ने तर तत्कालै नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बमोजिम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए ।

दुबै नेतासँग भएको छलफल र भावी रणनीतिबारे आजको बैठकमा प्रचण्डले नेताहरुलाई जानकारी गराउने भएका छन् । आज भने ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताइएकोछ ।