अन्तर्राष्ट्रियकरण लुम्बिनीको ब्रान्डिङ शुरु

२५ फागुन, सिद्धार्थनगर। बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ । लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र प्रतीक चिन्हलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकारवालाले बताएका छन् ।

लुम्बिनीसँग सरोकारित सङघसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारबीच रुपन्देहीको टाइगर प्यालेसमा भएको आज भएको कार्यक्रममा लुम्बिनीको लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएअनुसार बुद्ध रंग, अशोका पिल्लर, बुद्धजन्मस्थल र बुद्धिज्मसँग सरोकार भएका विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावित लोगोमाथि अन्तक्र्रियाका सहभागीले आ–आफ्ना सुझाव दिँदैं लोगोको अक्षर रन्जना लिपीमा राखेमा अझै प्रभावकारी हुने बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा इश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताउनुभयो ।

उहाँले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृत रुपमा लुम्बिनीको प्रबद्र्धनमा लाग्नुपर्नेसमेत बताउनुभयो । डा गौतमले लुम्बिनीमा प्रसूति अस्पताल खोल्नेगरी छलफल भएकोसमेत बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयका सचिव डा राजेन्द्र केसीले सरकारले सधैंँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले लुम्बिनीको प्रबद्र्धन गर्न पर्यटन बोर्डले सबैको सहकार्य र सुझाबलाई अङ्गिकार गर्दै ब्रान्डिङ गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयवासीलाई प्रत्यक्ष जोड्ने गरी कार्यक्रम गर्ने, लुम्बिनी क्षेत्रका हिन्दू पर्यटकीय धामसँग लुम्बिनीको सञ्जाल विस्तार गर्ने, विभिन्न निकुन्जमा कार्यक्रम गराउने तथा हिलस्टेशन र हिमालका दृश्य हेर्न मिल्नेगरी कार्यक्रम बनाउने गरी बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्नुपर्छ ।”

नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागार्इंले निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदानलाई सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्वको बारेमा बताउँदै लुम्बिनीको ब्रान्डिङ पश्चात् अन्तर्राष्ट्रियस्तरमा अझै महत्व बढेर जाने बताउनुभयो ।

पर्यटन पुनरुत्थान समिति संयोजक सागर अधिकारीले लुम्बिनीको अहिलेसम्म ब्रान्डिङ नभएको बताउदैं भन्नुभयो, “जसरी थाइल्याण्डको एमाइजिङ थाइल्याण्ड, भारतको अमूल्य भारत र नेपालको नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाए जस्तै लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रंग, नाम, लोगोको विषयमा गरिएको छलफलले कोरोना कहरपछिको पर्यटन पुनरुत्थानमा ठूलो योगदान दिनेछ । ”

कार्यक्रममा पर्यटनविद् विक्रम पाण्डे, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा सन्जीव हुमागाई , भिक्षु मैत्रेय, भारतस्थित एशोसियशन अफ बुद्धिस्ट टूर अपरेटर (आब्टो) का महासचिवसमेत रहेका भारतीय पर्यटन व्यवसायी डा कौलेशकुमार, पर्यटन व्यवसायी लीलामणि शर्मालगायतले लुम्बिनीको ब्रान्डिङमा सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

[sidebar name="button post"]