२२ फागुन, काठमाण्डौ। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’को कोभ्याक्स कार्यक्रम अन्तर्गत पहिलो चरणको खोप आइतबार काठमाण्डौ आइपुग्ने भएको छ । पहिलो खेपमा कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज नेपाल आइपुग्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए ।युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसॅख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए ।
कोभ्याक्स सुविधा अन्तर्गत पहिलो खेपमा आउन लागेको कोभिडविरुद्धको खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकासँगको सहकार्यमा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख र त्यसपछि खरिद गरिएका १० लाख पनि कोभिसिल्ड खोप नै हो । सरकारले आइतबारबाट दोस्रो चरणको खोप अभियान अघि बढाएको छ ।
६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोभिड भाइरसविरुद्धको खोप दिने तयारी सरकारको छ । यसअघि सरकारले ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको थियो ।
५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई लगाउने भएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । यद्यपी हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउने तयारी पनि सरकारको छ । त्यससँगै अर्को चरणमा शिक्षक, बसचलाक र अन्यलाई यो खोप निशुल्क दिने तयारी पनि छ । चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए ।











