२१ फागुन, बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलविरुद्ध स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेपछि कार्यक्रम छाडेर हिडेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्रीलाई स्थानीयले ढुंगा हानेका थिए ।
पौडेलले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि उनी भाषण नगरी कार्यक्रम टुंग्याएर हिडेका छन् । चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । आक्रोशित बनेका स्थानीयहरुले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।
बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज स्थानीयहरुले भत्काइदिएका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मच बनाएको थियो ।











