२१ फागुन, काठमाण्डौ। नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ। राष्ट्रिय सभा गृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विप्लवका नेताहरूलाई जिस्काएका छन्।
विप्लवपछि सम्बोधन गरेका प्रधानमन्त्रीले सुरूमै ठठ्टा गरेका हुन्। आफु १४ वर्ष जेल बस्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री अोलीले विप्लव नेतृत्वका नेताहरु छोटो समयमै जेलबाट छुटेको भन्दै ठट्यौली गरेका हुन् ।
मञ्चमा आसिन व्यक्तिहरूको नाम लिने क्रममा उनले विप्लवको पार्टीका वार्ता टोलीका प्रमुख खड्गबहादुर विश्वकर्मालाई जिस्काए। ‘प्रकाण्ड हो क्या रे नाम,’ ओलीले भने। प्रधानमन्त्रीले यसो भन्दै गर्दा राष्ट्रिय सभागृहमा हाँसोले गुञ्जिएको थियो ।
त्यसपछि उनले आजै जेलबाट छुटेर आएका अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई पनि जिस्काए। उनले भने, ‘धर्मेन्द्र बास्तोला जी बधाई छ, भर्खरै छुटेर आउनुभयो, । यति थोरै जेल बसेर छुटेर आउन पाए पो हुन्थ्यो, आफू त १४ वर्ष बसियो ।’
प्रधानमन्त्री ओलीले नयाँ साहसिक कदम चालेकोमा महासचिव विप्लवलाई बधाई पनि दिए।











