Ad #144479

२० फागुन, काठमाण्डौ। गृह मन्त्रालयले विप्लवका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारको निर्देशन दिएको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको हो ।

सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता-कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो । विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो । समूहले वार्ताका लागि आउँदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतको भनाइ छ ।

तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वार्ताको भइरहेका वेला कसैलाई पक्राउ नगरिने र वार्तामा बसेर प्रतिबन्ध फुकुवा हुने आवश्वसन दिएका थिए । तत्कालै प्रतिबन्ध फुकुवा गर्ने विषयमा वालुवाटार विश्वस्त भइनसकेकाले वार्ताबाटै त्यसबारे टुङ्ग्याइने भनिएको गृह स्रोतको दाबी छ ।

समूहसँग बुधबार एकैदिन दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी पक्षको दाबी छ । तर, विप्लव समूहले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ बिच पुनः बिहीबार पनि वार्ता भइरहेको छ । सरकार र विप्लव नेकपाबिच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको हो । बुधबार दिनभर तीनपटक दुई टोलीबिच वार्ता भएको थियो । वार्ता सकारात्मक रहेको र बिहीबारको वार्तालाई निर्णायक बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको पुल्चोक स्थित सरकारी निवासमा तेस्रो वार्ता भएको थियो । मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।

लगत्तै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का महासचिव विप्लवले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएका थिए ।