Ad #144479

१९ फागुन, काठमाडौं । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको छ ।

बैठकले प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्ने पनि निर्णय गरेको छ । आन्दोलनका क्रममा देश भर भएका दमनको भर्त्सना गर्ने र विशेष गरी जनकपुरमा भएको निश्रंस दमनको निन्दा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

पितृशोकमा रहेका कारण गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णयबाट दाहाल-नेपाल समूह पछि हटेको छ । त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ ।

पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठकले दुस्ख व्यक्त गरेको छ ।