नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६४१ नेपाली श्रमिकको मृत्यु
नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६४१ नेपाली श्रमिकको मृत्यु भएको छ ।
कतारले २०२२ मा आयोजना गर्न लागेको विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माणको काम थालिए यता मृत्यु हुने आप्रवासी श्रमिकको संख्या बढेको गार्जियन पत्रिकाले जनाएको छ ।
सन् २०११ देखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकको मृत्यु भैसकेको उक्त पत्रिकाले जनाएको छ ।
हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु हुने गरेको पनि समाचारमा जनाएको छ । मृत्यु हुने आप्रवासी श्रमिकहरुमध्ये सबैभन्दा बढी भारतका छन् ।
मृत्यु हुने नेपालीमध्ये ४८ प्रतिशत प्राकृतिक मृत्यु भएको, १६ प्रतिशतको सडकमा दुर्घटना,१० प्रतिशतको काम गर्ने ठाउँमा दुर्घटनामा र ९ प्रतिशतको रोग, रक्तस्राव, मृगौला फेल भएको करण मृत्यु भएको छ ।
यस्तै १० प्रतिशतको सुसाइड, १ प्रतिशतको हत्या भएका करण मृत्यु भएको छ भने बाँकी ७ प्रतिशतको मृत्युको कारण पत्ता लाग्न नसकेको जनाएको छ ।
कतारले पछिल्लो एक दशकदेखि अर्को वर्ष कतारमा विश्वकप फुटवल प्रतियोगितालाई लक्षित गर्दै रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माण गरिरहेको छ । कतारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक निर्माण क्षेत्रमा कार्यरत रहेका छन्।
अहिले कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत रहेको तथ्यांङ्क कतारस्थित नेपाली दूतावासले जनाएको छ ।









