सरोज कार्की
१४ फागुन, काठमाण्डौ। काठमाण्डौको शंखरापूर नगरपालिका वडा नं १ चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयले आज ४० औँ बार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि शङ्खरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले विद्यालय कै इतिहासमा पहिलो पटक ‘अङ्कुर ‘ नामको स्मारिका विमोचन गर्नु भएको थियो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामाले सभापतिको भूमिकामा निर्वाह गर्नुभएको थियो भने त्यस्तै शङ्खरापुर नगरपालिकाका उप मेयर सुक्रलक्ष्मी श्रेष्ठले विशिष्ट अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो।

त्यसैगरी बार्षिक उत्सवको अवसरमा संस्थापक प्र.अ दयालक्ष्मी श्रेष्ठले स्कुलमा अक्षयकोष खोल्नका लागि १ लाख ५१ रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामालाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमका सभापति लामाले हिजो २०३८ सालमा प्रा वि तहमा स्थापना भएको यो विद्यालय आज कक्षा १२ सम्म कक्षा संचालन हुने स्थितिमा पुगेको छ र नियमित संचालन भैरहेको बताउनु भयो। उहाँ आफु विद्यालयकोअध्यक्ष मात्र नभएर यहि विद्यालयको आँगनमा हुर्के बढेको र यहि विद्यालयमा कक्षा एक देखि कक्षा दस सम्म अध्ययन गरेर ,केहि समय यस विद्यालयमा शिक्षण पनि गराएको हुनाले यस विद्यालयको पूर्व शिक्षक,अभिभावक र अहिले २०७१ सालदेखि अध्यक्षको नेतृत्व गरिरहेको बताउनु भयो। यस विद्यालयमा बहुआयमिक रुपमा भूमिका निर्वाह गर्दै आउनु भएको पनि उहाँले बताउनु भयो।

त्यस्तै कार्यक्रमलाई अझै रोमान्चक बनाउनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा कमेडी च्याम्पियनका फ्रष्ट रनर अप चर्चित हास्य व्यंग्य कलाकार खड्गबहादुर पुन (खबपु),गायक भिमसेन खतिवडा, गायिका राधिका ढकाल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।



सो कार्यक्रममा पूर्व प्रधानध्यापकहरु श्री भानुभक्त जोशी, विष्णुहरि ढकाल, नारायण धिमाल, भरतमणि ढुंगाना, डोल प्रसाद लामिछाने,कृष्ण प्रसाद नेपाल, गोपीनाथ श्रेष्ठ,, दयालक्ष्मी श्रेष्ठलाई सम्मान-पत्र प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रममा पूर्व अध्यक्ष श्याममणि ढुंगाना, देवी प्रसाद चौलागाई, कृष्णलाल बजगाईंलाई सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रममा शिक्षक, संस्थापक सदस्य लगायतका अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शंखरापूर नगरपालिकाका उप मेयर सुक्रलक्ष्मी श्रेष्ठले विद्यालयले धेरै भन्दा धेरै विद्यार्थी भाई बहिनीहरुलाई समेट्न र कर्णधार बनाउन सकोस भनेर शुभकामना ब्यक्त गर्नुभएको थियो। साथै उहाँले आगामी दिनमा विद्यालयले भाषा मात्र होइन व्यवसायिक शिक्षाको लागि पहल गर्ने बताउनु भयो। अभिभावकहरुले भाषालाई प्राथमिकता दिएर प्राइभेट स्कुलमा पठाउने गरेको भन्दै उहाँले व्यवसायिक शिक्षामा जोड दिनु भयो। यहि ठाउँमा टिक्न सक्ने शिक्षा प्रदान गर्न सक्यौं भने यहि ठाउँमा केहि गर्न सकिने उहाँको भनाइ रहेको थियो।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि शंखरापूर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले शिक्षा भनेकै हाम्रो आँखा हो ,शिक्षा बिना कुनै पनि काम अगाडी बढाउन नसक्ने भएकाले शिक्षालाई जोड दिनुपर्ने बताउंदै उहाँले भन्नुभयो,’ शिक्षकहरु इमान्दार भैदिनु पर्यो, शिक्षकहरु समय मै विद्यालय आइदिनुपर्यो, तपाईंहरुले हाम्रा साना कलिला बाबुनानीहरुलाई गुणस्तर शिक्षा दिनुपर्यो। ‘ अब आउने नगर सभामा विद्यालयलाई बजेट क्षेत्रमा सहयोग गर्ने र आजको कार्यक्रम सफल रहेको भन्दै कार्यक्रममा उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्दै विद्यार्थी भाइ बहिनीहरुको उतर -उत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो।


कार्यक्रममा विद्यार्थी,पूर्व विद्यार्थी, शिक्षक, पूर्व शिक्षक, अभिभावक, शंखरापूर नगरपालिकाका मेयर , उप- मेयर ,वडा अध्यक्ष, छिमेकि विद्यालयका अध्यक्ष तथा प्रधानध्यापक,राष्ट्रिय तथा स्थानीय कलाकार, हास्य कलाकार खबपुको लगायतको सहभागीता रहेको थियो भने चाँपावोट मा वि व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामाको अध्यक्षमा सम्पन्न विद्यालयको ४० औँ बार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रमको संचालन शिक्षक सानु कान्छा तामांगले गर्नु भएको थियो ।















