कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षमा फेम्बू चयन

१३ फागुन, फुङ्लिङ। ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षमा खगेन्द्र लिम्बू फेम्बू सर्वसम्मतिले चयन हुनभएको छ ।

अध्यक्षको चयनसँगै यही फागुन ३ गतेदेखि शुरु भएको दोस्रो चरणको पुनःगठन प्रक्रियाले आज पूर्णता पाएको हो । परिषद्का सदस्यसचिवमा कञ्चनजङ्घा उपभोक्ता समितिबाट मनकुमार राई र कोषाध्यक्षमा घुन्सा सेकाथुम उपभोक्ता समितिबाट फुपु छोवाङ शेर्पा सर्वसम्मतिका आधारमा छनोट भएको परिषद्का संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फेम्बू कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तेस्रो कार्याकालका लागि परिषद्को अध्यक्षमा छनोट भएको छ ।गत पुस ७ गतेदेखि परिषद्को पुनःगठन प्रक्रिया शुरु भएको थियो । दुईवटा समिति गठन प्रक्रिया पूरा गरेसँगै सुरक्षाको चुनौती आएको भन्दै गत पुस २४ गते पुनःगठन प्रक्रिया स्थागन गरेको थियो ।

परिषद् गठन प्रक्रियामा केही असन्तुष्ट पक्षले परिषद् पुनःगठन नियमावलीअनुसार नभएको भनेर तीन वटा उपभोक्ता समूह रद्द गरेर पुनःगठन गर्न माग गर्दै उच्च अदालत इलाममा तीनवटा मुद्दा दर्तासमेत भएको थियो ।

तर उच्च अदालत इलामले आन्तरिम आदेश जारी नगरेकाले गत फागुन ३ गतेदेखि पुनःगठन प्रक्रिया शुरु गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो ।

[sidebar name="button post"]