१२ फागुन, काठमाण्डौ। सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य घटनाको रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि खुसियाली मनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘भाइ’ सम्बोधन गर्दै उनले कटाक्ष पनि गरे ।
बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लड्डु खाएर खुशीयाली मनाएका दाहाल र नेपालले के पाउँछन् त्यो आफूले हेर्ने टिप्पणी गरे ।
‘मेरा केही भाइहरुले लड्डु खुवाइ–खुवाइ गरे अरे,’ उनले भने, ‘जित्यौँ हामीले भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन, लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ ।’
देश विकासको आकांक्षा र संकल्पमा अहिलेसम्म आफूमा कति पनि फरक नभएको ओलीले दाबी गरे । दाहाल–नेपालतर्फ इंगित गर्दै उनले स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्ने बताए ।
करीब ३८ मिनेटको सम्बोधनका क्रममा केही मिनेट मात्रै राजनीतिक भाषण गरेका ओलीले सूर्य उदाउँदा पनि रातो भएर उदाउने र अस्ताउँदा पनि रातै भएर अस्ताउने भन्दै आफूलाई कुनै पश्चाताप नभएको संकेत उनले गरे। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि अहिले उनले नैतिकतामा राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानमन्त्री ओलीले भने तत्काल सत्ता नछाड्ने संकेत गरेका छन्।











