लागुऔषध मुद्दामा छ वर्षदेखि फरार प्रतिवादी कारागार चलान

११ फागुन, काभ्रेपलाञ्चोक। जिल्ला प्रहरी कार्यालयले लागुऔषध मुद्दामा छ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । छ वर्षदेखि फरार जिल्लाको रोशी गाउँपालिका–११ का २९ वर्षीय राजीव भन्ने मणिराज श्रेष्ठलाई फरार प्रतिवादी खोजतलासका क्रममा प्रहरीले पक्राउ गरी कैद तथा जरिवाना बेरुजु फछ्र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरेको हो ।

श्रेष्ठलाई २०७१ फागुन १९ गते भक्तपुर जिल्ला अदालतले लागुऔषध मुद्दामा दुई वर्ष कैद र रु एक लाख जरिवाना फैसला गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठलाई उनकै घरमा लुकीछिपी बसेको अवस्थामा सोमबार पक्राउ गरी आज अदालत पेश गरिएको हो ।

गत हप्ता प्रहरीले विभिन्न मुद्दाका फरार अन्य पाँच फरार प्रतिवादीलाई पक्रेको छ । उनीहरुलाई फरार प्रतिवादी खोजतलासका क्रममा पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरेको प्रहरीले जनाएको छ ।

कैद भक्तानका लागि अदालत पठाइएकामा वनपैदावार हानी नोक्सानी मुद्दामा २०७२ भदौमा रु २४ हजार र १८ महिना कैद फैसला गरिएका मण्डनदेउपुर नगरपालिका–१ का ३५ वर्षीय बिलबहादुर विक, सोही नपा–२ का २८ वर्षका रवीन घिसिङलाई सवारी दुर्घटना गराई अङ्गभङ्ग गराएकामा २०७३ मङ्सिरमा रु १० हजार जरिवाना तोकिएको थियो ।

यस्तै जातीय छुवाछूत तथा भेद्भाव मुद्दामा उच्च अदालत पाटनले २०७६ असार १६ गते कैद र पीडितलाई क्षतिपूर्ति भराएको फरार तीन प्रतिवादीलाई पनि प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा पाँच खाल नपा–६ का ३७ वर्षीय रामचन्द्र श्रेष्ठ तथा सोही वडाका ३० वर्षका दीपक श्रेष्ठ र २५ वर्षीय नवीन श्रेष्ठ रहेका छन् । उनीहरुलाई कैद र जरिवाना भुक्तानीका लागि जिल्ला कारागारमा राखिएको छ ।

उनीहरु तीनलाई पाटन अदालतले जनही चार महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई जनही रु २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उनीहरुले स्थानीय एक दलित समुदायका व्यक्तिलाई २०७४ माघ १ गते अरनिको सडकखण्डस्थित यात्रु प्रतीक्षालयमा दलित भनी अपशब्द प्रयोग गर्दै गालीगलौज गरी जुत्ताको मालासमेत लगाएर गाउँ निकाला गर्न खाजेका थिए ।

[sidebar name="button post"]