१० फागुन, मुगु। एक नगरपालिका र तीन गाउँपालिका रहेको हिमाली जिल्ला मुगुमा एक गाउँ पालिकाले आफ्नै प्रशासनिक भवन बनाएर सेवा सुविधा दिन शुरु गरेको छ । मुगुम कार्मारोङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरेर शनिबारबाट पालिकाबाट प्रदान हुँदै आएका सेवा नयाँ प्रशासनिक भवनबाट दिन शुरु गरेको हो ।
अन्य पालिका केन्द्रमा भाडामा घर लिएर चलिरहेका बेला यो गाउँपालिकाले भने आफ्नै भवन बनाएर सेवा दिन शुरु गरेको हो । भवन निर्माण गर्न गत वर्षको गाउँसभाबाट रु ८१ लाख बजेट विनियोजन गरिएको थियो ।
८१ लाख गाउँपालिकाको र १८ लाख जनश्रमदान गरी कूल ९९ लाखमा एक तालीम हल र २३ वटा गाउँपालिकाभित्र रहेका विषयगत शाखाका कार्यालय सञ्चालन, अतिथि गृहसहितको सेवा रहने गरी निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी गराउनुभयो ।
भवनसँगै गाँउपालिकाबाट प्रवाह भइरहेका, हुने गतिविधि तथा क्रियाकलापको जानकारी सर्वसाधारणले सहजै पाउन भनेर डिजिटल सूचना पाटी राखिएको र विद्युतीय हाजिरी प्रयोगमा ल्याउन लागेको पनि प्रमुख कठायतले बताउनुभयो ।
“९ वटा वडाका आफ्नै वडा कार्यालय गत वर्षमा नै निमार्ण गरिसकेका थियौँ, विषयगत शाखा र अन्य कार्यालय सञ्चालनको लागि वर्षेनि लाखौँ भाडा तिरेर सकिन्थ्यो, अब पालिकाको सेवा सुविधासहितको कार्यालय भवन निर्माण सम्पन्न भएको छ”, मुगुम कार्माराङ गाउँपालिकाका अध्क्षय छिरिङ क्याप्र्ने लामाले बताउनुभयो ।











