७ फागुन, काठमाण्डौ। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ। आजको बैठकमा आन्दोलनको समीक्षासमेत हुने भएको छ।
त्यस्तै आज संसदीय दलको बैठक बस्न लागेको छ।
यसैबीच, निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारीस्वरूप प्रचण्ड–नेपाल समूहले नागरिकता संकलन थालेको हो।
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था र आन्दोलनबारे जानकारी गराउन आजको बैठक बोलाइएको हो। “अदालतमा के भइरहेको छ, निर्वाचन आयोगमा के हुँदैछ भनेर सबै साथीहरूलाई जानकारी दिनु र आवश्यक छलफलका लागि आजको बैठक डाकिएको हो”, उहाँले जानकारी दिनुभयो।
हामी यति छौं भनेर देखाउने विषयमा छलफल गर्न र निर्वाचन आयोगलाई आफ्नो आधिकारिकताका लागि केही बुझाउनका लागि आजको बैठक बोलाएको पाण्डेले जानकारी दिनुभयो।
‘आजै निर्वाचन आयोग जाने त हुन्छ कि हुँदैन, त्यो बैठकमै छलफल होला तर सबै केन्द्रीय सदस्यको नागरिकता संकलन पछि फोटोकपी बुझाउँदा हुन्छ कि आफैं जानुपर्छ भन्ने पनि थाहा होला भनेर संकलन गरेका हौ’, उहाँले भन्नुभयो,”भोलि सबै आउ भनेर आयोगले भन्यो भने त्यतिबेलाका लागि सहज हुन्छ भनेर यसो गरेका हौ।”
उहाँले पार्टीमा भएका गतिविधिलाई एक रूपता दिन र भएका निर्णयदेखि कार्यान्वयनसम्मका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो।









