३ फागुन, काठमाडौं । चार पूर्वप्रधान न्यायाधीशहरूले आज सर्वोच्च अदालतमा लिखित जवाफ लिएर गएका छन् । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरु आज सर्वोच्चमा पुगेका हुन् ।
पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत गएका हुन् । उनीहरुले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । यही माघ १५ गते सर्वोच्चले चारै जनालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो ।
लिखित जवाफमा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माको भने अलि छुट्टै जवाफ र अन्य तीन पूर्वप्रधान न्यायाधीशको एकै किसिमको जवाफ रहेको छ । सस्तो लोकप्रियताका लागि कलुसित सोचबाट आफुहरूबिरुद्ध रिट दायर भएको पूर्वप्रधान न्यायाधीश शर्माको लिखित जवाफमा उल्लेख गरेको स्रोतले बताएको छ ।
आफु लोकतान्त्रिक पद्धति र स्वतन्त्र न्यायापालिका लागि ४३ वर्षभन्दा बढी कानुनी क्षेत्रमा पसिना बगाएको पूर्वप्रधान न्यायाधीश शर्माले उल्लेख गरेका छन् । निवेदकले झुटो दाबीसहित रिट दायर गरेकाले खारेज गर्न चार चार पूर्वप्रधान न्यायाधीशले माग गरेका छन् ।
सर्वोच्चमा मुद्दाको सुनुवाइ चलिरहेका बेला चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ती निकालेर प्रतिनिधि सभा विघटन असंवैधानिक भएको धारणा सार्वजनिक गरेका थिए । अदालत शब्द समेत उल्लेख नगरी विज्ञप्ति जारी गरेका पूर्वप्रधानन्यायाधीशले अदालतको मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै केहीले आलोचना गरेका थिए ।











