२७ माघ, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । मंगलबार भएको खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन निरु थापाले दुई गोल गरिन् । यस्तै निर्मला उपाध्यायको नाममा एक गोल रह्यो । विराटनगरविरुद्ध पुलिसले पहिलो हाफमै अग्रता बनाएको थियो ।
खेलको ४१ औं मिनेटमा निर्मलाले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएकी थिइन् । उनले निर्मला बिकको पासमा गोल गरेकी हुन् । दोस्रो हाफमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेकी निरु चम्किईन् ।
खेलको ५७ औं मिनेटमा निरुले गोल गर्दै पुलिसको अग्रता २-० को बनाईन् । त्यसपछि खेलको ५९ औं मिनेटमा निरुले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३- ले विजयी भयो । जारी लिगमा निरुको यो तेस्रो गोल हो । यो जितसंगै पुलिसले विराटनगरविरुद्ध अघिल्लो खेलमा व्यहोरेको बदला समेत लिएको छ ।
यस अघिको भेटमा पुलिस विराटनगरसँग १- ले पराजित भएको थियो । विराटनगरलाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । पुलिसले ८ खेलमा ११ अंक जोडेको छ । विराटनगर ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।









