२५ माघ, काठमाडौं । देशभरमा हाल इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड ३९ लाख पुगेको छ । लकडाउनपछि मात्र इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका छन् ।
लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट प्रयोगकर्ता रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ हजार रहेको तारसहितको ९फिक्स लाइन० इन्टरनेट प्रयोगकर्ताको संख्या ६१ लाख १९ हजार पुगेको छ ।
तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढेको प्राधिकरणले जनाएको छ । फिक्स लाइन इन्टरनेट ग्राहकको संख्या यति छोटो अवधिमा १० लाखभन्दा बढी थपिएको यो पहिलो पटक हो ।
लकडाउनअघि ३ लाख ९२ हजार रहेको वर्ल्डलिंक कम्युनिकेसनको फिक्स्ड लाइन ग्राहक कात्तिकससम्म ४ लाख २२ हजार पुगेको छ । नेपाल टेलिकमको २ लाख ३४ हजार फिक्स्ड लाइन ग्राहक पनि बढेर २ लाख ७० हजार पुगेको छ । सुबिसुको १ लाख १७ हजार फिक्स्ड लाइन ग्राहक बढेर १ लाख ६९ हजार पुगेको छ । भायानेटको ग्राहक १ लाख ३ हजारबाट १ लाख २३ हजार पुगेको छ ।
बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेका छन् । फिक्स्ड लाइनतर्फ ‘वायरलेस’ इन्टरनेट प्रयोगकर्ता भने लकडाउनमा दुई हजार मात्र बढेका छन् ।
लकडाउनअघि रेडियो वाइफाइ र वाइम्याक्सबाट ताररहित इन्टरनेट सेवा लिनको संख्या २ लाख २४ हजार रहेकोमा अहिले २ लाख २६ हजार पुगेको छ । मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ ।
८ महिनाको अवधिमा मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्नेको संख्या १० लाखभन्दा माथि उक्लिएको छ । लकडाउनअघि १ करोड ६५ लाख ४५ हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता थिए, अहिले १ करोड ७५ लाख ७५ हजार नाघेको छ ।












