Ad #144479

२४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको यो तेस्रो चरणको दोस्रो कार्यक्रम हो । आजको कार्यक्रम शुभेच्छुक संस्थाहरुले ७७ जिल्लाको सदरमुकाममा गर्ने कांग्रेसले जनाएको छ । ।

कांग्रेसले प्रतिनिधि सभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने बताएको छ । ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध संघर्ष जारी प्रवक्ता विश्वप्रकाश शर्माले जनाए ।

कांग्रेसले यसअघि पुष १३, पुष २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ । विरोध कार्यक्रममा नेताहरु आफ्नो सहजता जता हुन्छ त्यतै उपस्थित हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।