Ad #144479

२० माघ, काठमाडौं । नेकपा ‘पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह’ले निर्वाचन आयोगमा आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोग कार्यालय पुगेर आधिकारिकता माग गर्दै पत्र बुझाएका हुन् ।

आयोग पुगेको टोलीमा सहभागी स्थायी समिति सदस्य लिलामणि पोखरेलले आफूहरूसँग बहुमत रहेकाले आधिकारिकता दिन माग गरेर पत्र बुझाएको जानकारी दिए । अध्यक्ष दाहाल र नेपालले आधिकारिकताका सबै आधार र प्रमाण आफूहरूसँग रहेकाले आयोगले गम्भीर रूपमा अनुसन्धान गरेर नाम र चिन्ह दिनुपर्ने माग आयोगका पदाधिकारीहरूसँग गरेका पोखरेलले बताए ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दाबीबारे गम्भीर छलफल गरेर चाँडै निर्णय गर्ने बताए । यसअघि निर्वाचन आयोगले दुवै पक्षको दाबी अस्वीकार गरेको थियो । आयोगले अहिलेसम्म नेकपाको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल र महासचिवमा विष्णु पौडेल आफ्‍नो रेकर्डमा रहेको बताएको थियो ।