Ad #144479

युङडुङ बैजी

जाडो लागेपछि हिमपात सुरु भएको छ । तराई र पहाडमा जनजीवन प्रभावित बन्न थालेको छ । हिमाली भेगमा झन् जनजीवन थप कष्टकर बन्दै गएको छ । हिमाली भेगतिर हिमपात सुरु भइसकेको छ । उपल्लो डोल्पामा यति बेला चिसो खपिनसक्नु छ । तापक्रम माइनसमा झरेको छ ।

चिसोबाट बच्नका लागी फोक्सुन्डो, साल्दाङ, निजाल, भिजेर, कराङ, नाम्दो, कोमा लगायतका गाउँका बासिन्दाहरु तल बेसी तिर झरिसकेका छन् । हिउँदमा तल बेसी झर्ने चलन पुरानै छ । उपल्लो डोल्पालीका लागी हिउदँमा बेसी झर्नु संस्कृति नै बनेको छ । चिसो बढेपछि डोल्पालीहरु ओरालो लाग्छन् । हिउदँमा करिब चार, पाँच महिना उपल्लो डोल्पाली सबैको बास तल्लो क्षेत्रमा हुन्छ ।

कोहि अस्थायी घरमा बसेर, केही भने कोठा भाडा लिएर बस्छन् । गाउँबाट झर्नु अघि उवा, फापर, आलु, गहुँ लगायतका बाली थन्क्याइसकेका हुन्छन् । आफ्नो उत्पादनले लगभग पाँच/छ महिनासम्म खान पुग्छ । बाँकी समयका लागी तिब्बत र दुनै (सदरमुकाम) बाट खाद्यान्न किनेर घोडा, खच्चड, याकलाई बोकाएर ल्याउनु पर्छ ।

डोल्पालीको व्यथा

उपल्लो डोल्पामा तीनवटा गाँउ पालिकाहरु छन् । शे–फोक्सुण्डो, छर्का ताङसोङ र डोल्पोबुद्ध हुन् । यी तीनै वटा गाउँपालिका तिब्वतसँग जोडीएका छन् । सदरमुकाम दुनै सडक सञ्जालमा जोडीएता पनि त्यसमाथि सडक छैनन् । उपल्लो डोल्पाका बासिन्दाहरु सदरमुकाम दुनैसम्म पुग्न एक हप्ता पैदल यात्रा गर्नुपर्ने हुन्छ । लामो बाटोको यात्रा गर्दा डोल्पालीहरुले निकै कष्ट भोग्नु परेको छ । चिसोले गर्दा त्यहाँका पशुहरुलाई पनि समस्या हुने भएकाले तल बेसी तिरै झार्ने गरिन्छ । जस्तैः याक, चौरी, जोपा, खच्चड र घोडा ।

भौगोलीक रुपले डोल्पा बिकट भएकाले बाटो–घाटो राम्रो नहुँदा यात्रुहरुले दुःख भोग्नु परेको शे–फोक्सुण्डो गाउँपालिका बासिन्दा छेवाङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो,‘पहिला बाउबाजेका पालामा मानिसहरु गाँउमै बसे, पशुहरुलाई मात्र बेसी तिर झार्ने गर्थे तर पछिलो समयदेखी मानिसहरु पनि चिसो खपिनसक्दा करिब तिन, चार महिना जाडो छल्न बेसी तिर झर्न बाध्य छन् ।

तीन महिना बसेर वैशाखमा माथी फर्कने चलन छ । यसरी नै तीन महिना बसेर आफ्नो गाँउ फर्किदा हिउँले गर्दा घरभित्र पानी चुहिएका, खाद्यान्न तथा अन्नहरुमा पानी परेर कुहिने जस्ता समस्या छन् ।’ तल बेसी बस्दा गाईवस्तु तथा पशुहरुको सुरक्षा गर्न, परिवारका लागी खाद्यान्नका सामाग्रीहरुको व्यवस्था गर्ने गरिन्छ । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हो । सदरमुकामकै नजिक बस्दा खाद्यान्न, अन्य भौतिक सामग्रीहरु सस्तो दरमा पाउँछन् ।

वैशाख लागेपछि उपल्लो डोल्पा तात्न थालेसंगै फर्किने क्रम सुरु हुन्छ । फर्कनसाथ बाली लगाउने, यार्सागुम्बा संकलन गर्ने गरिन्छ । यार्सागुम्बा पनि डोल्पालीको एक मुख्य आयस्रोत हो । चिसोले गर्दा गाँउमा मान्छेहरुको खासै आवत जावत हुँदैन ।