प्रचण्ड–माधव पक्षले माघ २८ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयविरुद्ध आगामी माघ २८ गते विशाल जनप्रदर्शन गर्ने भएको छ । सो पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहिबार बसेको बैठकले आगामी माघ २८ गते काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने कार्ययोजनासहितको निर्णय गरेको छ ।

बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा हुँदै गएको ठहर गर्दै आन्दोलनलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएको छ ।  बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको बताएका छन् ।

अध्यक्षद्धयले आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले यसमा कुनै दुविधा नरहेको पनि बताएका छन् ।  सम्बोधनका क्रममा अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनैपनि तानाशाही कदमको सशक्त प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि त्यसको सवैतिरबाट विरोध हुँदै आएको छ ।

[sidebar name="button post"]