१४ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा अब बहस गर्ने समय १५ मिनेट तोकिएको छ । बुधबार इजलासको अन्तिममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोही समय तोकेका हुन् ।
नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ । बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका छन् ।
प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् । ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ । उहाँहरुलाई पनि समय दिनैपर्यो । यसलाई प्रिय नै मानिदिनुहोला’ उनले भने ।
देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् ।
संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।











