१४ माघ, डोटी । जिल्लाका नौवटै स्थानीय तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचन कार्यालयका कर्मचारी अहिले गाउँगाउँमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ ।
कार्यालयले यहाँ राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्न नौवटै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको जिल्ला कार्यालयका प्रमुख डोटीका प्रमुख दलबहादुर मलासीले जानकारी दिनुभयो ।
वैशाखमा हुने निर्वाचनमा डोटीमा कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको कार्यालय प्रमुख मलासीले जानकारी दिनुभयो । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी एक लाख छ हजार ५४३ मतदाता थिए । आगामी वैशाखमा हुने निर्वाचनमा मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ ।
विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले ११ हजार ७४ मतदाता थपिएका छन् । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनैतिक दलहरुलाई सहयोग गर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने कार्यालयले जनाएको छ । विसं २०७४ को निर्वाचनमा डोटीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४.७९ प्रतिशत मत खसेको थियो ।
यस्तै समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो । जम्मा खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।











