१४ माघ, भोजपुर । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकको कामको थालनी गर्ने भएको छ । कार्यालयले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न शरु गर्ने भएको हो ।
यही माघ १५ गतेबाट २१ गतेसम्ममा सम्पूर्ण स्थानीय तहको अद्यावधिको काम सक्ने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा भएको बैठकले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको काम सञ्चलान गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कार्यक्रमलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्षलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको छ । कार्य तालिकानुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने दाहोरो पर्न गएका नामावली हटाउने, उजूरी लिनेलगायतका दाबी विरोधका कार्यमा आवश्यक सहयोग समन्वय र प्रचारप्रसारका कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन निर्वाचन कार्यालयका प्रमुख पवनकुमार रेग्मीले बताउनुभयो ।
सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी मिति तोकिएसँगै नामावाली अद्यावधिक तथा दाबी विरोधको काम शुरु गरिएको छ । माघ १५ देखि २६ गतेभित्रमा भोजपुरलगायत ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने जनाइएको छ ।
यहाँका मतदान केन्द्र र मतदानस्थल परिवर्तन गर्ने तथा थप गर्ने काम सम्पन्न भइसकेको छ । जिल्लाका छ वटा मतदानस्थल परिवर्तन गरिएको छ भने छ मतदान केन्द्र थप गर्ने निर्णय भएको छ । जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र छन् ।











